अन्तर कलेज क्रिकेटः उपाधिको लागि हेटौंडा र पर्साबीच प्रतिस्पर्धा हुने
२८ फागुन, हेटौँडा । हेटौंडामा जारी अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिताको उपाधिको लागि हेटौंडा स्कुल अफ म्यानेजेमेन्ट र पर्साको नेशनल इन्फोटेक कलेजबीच प्रतिस्पर्धा हुने भएको छ ।
हेटौंडा–४, हुप्रचौरमा सोमबार भएको लिग चरणको अन्तिम खेलमा आ–आफ्नो समूहको शीर्ष स्थानमा रहँदै दुवै टोली अष्टकुमारी क्रिकेट प्रतियोगिताको उपाधि नजिक पुगेका हुन् । प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ । लिग चरणको खेलमा हेटौंडा सिटी कलेजले नारायणी कलेजलाई ३० रनले पराजित गरेको हो । यो दुवै टोलीलाई पराजित गर्दै म्यानेजेमन्टले फाइनलमा स्थान बनाएको थियो ।
लिग चरणको अन्तिम खेलमा पर्साले अरोमा कलेज चितवनलाई १६ रनले पराजित गरेको हो । पर्साले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षति १ सय ३० रन मात्र बनाउन सक्यो । यस अघि पहिलो व्याटिङ गरेको पर्साले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । खेलमा पर्साका सफवान अली म्यान अफ दी म्याच घोषित भए ।
हेटौंडा जेसीजको आयोजनामा जारी प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।