आदेशका आधारमा नभई प्रमाणका आधारमा प्रतिवादी बनाउन गृहमन्त्री लामिछानेको निर्देशन

स्वर्णिम खबर
२७ फाल्गुन २०८०, आईतवार १५:४८

२७ फागुन, काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले हरेक नागरिकले सुरक्षाको अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
उहाँले आर्थिक अपराध, ठगी, साइबर अपराध, लागुऔषध कारोबारलगायतका आपराधिक गतिविधि नियन्त्रणमा जुट्न पनि आग्रह गर्नुभयो । नेपाल प्रहरी प्रधान कार्यालयको आइतबार निरीक्षण भ्रमणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले कुनै घटनाका प्रतिवादी आदेशका आधारमा नभइ प्रमाणका आधारमा बनाउन निर्देशन दिनुभयो ।
उहाँले सङ्गठन निर्माण र उच्च छवि बनाउन योगदान दिनुहुने सम्पूर्ण पूर्वप्रहरी अधिकृतहरू र बहालवाला प्रहरी अधिकृत तथा जवानहरूप्रति सम्मान समेत प्रकट गर्नुभयो । कर्मचारीहरूले आफूलाई सुम्पिएको जिम्मेवारी कानुनी परिधिमा रही निर्वाह गर्नुपर्ने तथा उनीहरूको वृत्तिविकासको सुनिश्चितता सङ्गठनले गर्नुपर्ने उहाँको भनाई छ ।


गृहमन्त्री लामिछानेले कर्मचारीको सरूवा, बढुवा तथा वृत्ति विकासका लागि आवश्यक नीति र योजना बनाएर ल्याउन आग्रह गर्नुभयो । उहाँले वैज्ञानिक प्रविधिको प्रयोगबाट हुने अपराधको अनुसन्धानमा प्रविधिको प्रयोग सँगसँगै लिएर वैज्ञानिक उपकरणहरू र दक्ष जनशक्तिको विकास आवश्यक रहेको उल्लेख गर्नुभयो ।
पीडित महिला तथा बालबालिका, वृद्धवृद्धा, असहाय, गरिब, अपाङ्गता भएकाहरुको न्यायका लागि अझ बढी सजग र सचेत भई विशेष प्राथमिकताका साथ सम्बोधन गर्न उहाँले निर्देशन दिनुभयो । उहाँले आफू कुनै व्यक्ति विशेषको सरुवा बढुवा गर्ने र त्यसवापत लाभ लिने उद्देश्य पूरा गर्न मन्त्रालय नआएको समेत स्पष्ट पार्नुभयो । प्रहरी समायोजनलाई पनि टुंगोमा पु¥याउनुपर्ने बताउँदै उहाँले त्यसका लागि सरोकारवालासँग छलफल र गृहकार्यलाई निरन्तरता दिने बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*