बानेश्वर फ्रेण्डसिपलाई भेट्रान्स कपको उपाधि

स्वर्णिम खबर
२६ फाल्गुन २०८०, शनिबार २१:०८

२६ फागुन, हेटौँडा । नवौं राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साईड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि बानेश्वर फ्रेण्डसिप काठमाडौंले जितेको छ ।
हेटौंडा ५ स्थित क्याम्पा रंगशालामा शनिबार भएको फाइनल खेलमा किङ्गकम भेट्रान्स काठमाडौलाई १–० ले पराजित गर्दै बानेश्वरले उपाधि जितेको हो । बानेश्वरको लागि हरिहर थापाले गरेको गोल नै निर्णयक बन्यो । फाइनल खेलको म्यान अफ दि म्याच गोलकर्ता थापा घोषित भए । उपाधिसंगै बानेश्वरले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी प्राप्त गरे । त्यसैगरी उपबिजेता बनेको किङ्गकमले ५५ हजार पाँच सय ५५ रुपैयाँ सहित ट्रफी प्राप्त गरे । बिजेता र उपबिजेताहरुलाई हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाले पुरस्कार प्रदान गर्नुभएको हो ।
प्रतियोगिताको उत्कृष्ट फरवार्ड बानेश्वरकै थापा, उत्कृष्ट गोल रक्षक बानेश्वरका प्रदिप तण्डुकार, उत्कृष्ट डिफेन्स महेन्द्र विश्वास खवास, उत्कृष्ट कोच आर्दश मल्ल घोषित हुनु भएको थियो । प्रतियोगिताको उत्कृष्ट मिड फिल्डर किङ्ग कमका विपिन शाह घोषित हुनुभएको थियो । विधागत तर्फबाट उत्कृष्ट भएका खेलाडीहरुलाई नगद ५ हजार रुपैयाँ सहित शिल्ड प्रदान गरिएको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी किङ्गकमका जगतमान लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ र शिल्ड प्राप्त गरे ।


गत फागुन २२ गतेदेखि संचालन भएको प्रतियोगितामा देशभरका १९ वटा टिमको सहभागिता रहेको थियो । ४५ वर्ष उमेर समुहभन्दा माथिका खेलाडी सम्मिलित उक्त टिमहरुमा ५० वर्ष उमेरका २ जना खेलाडी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको थियो । क्लबका कार्यवाहक अध्यक्ष नवराज बज्राचार्यको अध्यक्षतामा सम्पन्न फाइनल खेलमा हेटौंडा उपमहानगरपालिकाका मेयर लामा सहित प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरी, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने, हेटौंडा–५ का अध्यक्ष सुशिल घिमिरे, हेटौंडा–६ का अध्यक्ष विष्णु बहादुर दाहाल, हेटौंडा–७ का अध्यक्ष दामोदर गौतम, हेटौंडा–८ का अध्यक्ष राम थापा, हेटौंडा–९ का अध्यक्ष शुकराम केसी, जिल्ला खेलकुल विकास समिति मकवानपुरका अध्यक्ष वेष खड्गी, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा लगायतको उपस्थिती रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*