अन्तर क्याम्पस अष्टकुमारी टि–२० क्रिकेट प्रतियोगिता हुने
२४ फागुन, हेटौँडा । हेटौंडा जेसीज वर्ष सन् १९९२ का अध्यक्ष पूर्ण शाक्यको स्वर्गीय आमा अष्टकुमारी शाक्यको स्मृतिमा हेटौंडामा अन्तर क्याम्पस अष्टकुमारी टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
बिहिबार पत्रकार सम्मेलन गर्दै हेटौंडा जेसीजले प्रतियोगिता बारे जानकारी गराएको हो । हेटौंडा ४ स्थित हुप्रामा फागुन २६ गतेबाट हुने प्रतियोगितामा मकवानपुर, बारा र पर्साका ६ वटा कलेजको सहभागिता रहेको छ । बाराको सिमरा कलेज, पर्साको नेशनल इन्फोेटेक र चितवनको एरोभा कलेज सहित मकवानपुरको हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, हेटौंडा सिटी कलेज र नारायणी कलेजले सहभागिता जनाउने हेटौंडा जेसीज वर्ष सन् २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।
लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा सहभागी टिमहरुलाई दुई समुह विभाजन गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । फागुन २९ गतेसम्म हुने प्रतियोगितामा विजेताले ५० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार नगदसहित ट्रफि र मेडल प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई पनि जनही पाँच÷पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने पनि अध्यक्ष श्रेष्ठले बताउनुभयो । उद्घाटन खेल हेटौंडा स्कुल अफ म्यानेजमेन्ट र हेटौंडा सिटी कलेजबीच हुने कार्यक्रम संयोजक सुमन अर्यालले जानकारी दिनुभयो । प्रतियोगिताको लागि कूल ४ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।