वडा अध्यक्ष कप फुटबल प्रतियोगिता चैत्र ९ गतेदेखि गौरीटार रंगशालामा हुने
१८ फागुन, हेटौँडा । अन्तर वडा स्तरीय १५ नं. वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको दोश्रो संस्करण चैत्र ९ गतेदेखि हुने भएको छ ।
२८ सय ६० औ सोनाम ल्होछारको अवसरमा हेटौंडा १५ नम्बर वडाको प्रायोजन र वडा स्तरीय खेलकुद विकास समिति हेटौंडा १५ को आयोजनामा प्रतियोगिता हुन लागेको हो । शुक्रबार पत्रकार सम्मेलन गर्दै खेलकुद विकास समितिले प्रतियोगिता बारे जानकारी गराएको हो । गौरीटार रंगशालामा चैत्र २२ गतेसम्म हुने प्रतियोगितामा १९ वटै वडाको सहभागिता रहने खेलकुद विकास समितिका अध्यक्ष गोविन्द नेगिले जानकारी दिनुभयो । प्रतियोगितामा विजेता टिमले नगद १ लाख प्राप्त गर्ने छन् भने उपविजेता टोलिले ५० हजार प्राप्त गर्ने छन् ।
यसै गरी प्रत्यक खेलको म्यान अफ द म्याच घोषित हुनेले उचित नगद पुरस्कार प्राप्त गर्ने छ । त्यसैगरी विधागत तर्फ उत्कृष्ट फरवार्ड , मिड फिल्डर, गोलरक्षक, डिफेन्डर र सर्वोत्कृष्ट खेलाडीलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष नेगीले बताउनुभयो । पत्रकार सम्मेलनमा वडा अध्यक्ष सुनिल मोक्तानले नगरका प्रत्येक वडामा खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न ६ लाख लागत लाग्ने अनुमान गरिएको अध्यक्ष मोक्तानले जानकारी दिनुभयो ।