न्यायपालिकालाई जनताको भरोसाको केन्द्रको रुपमा स्थापित गर्नुपर्छः प्रधानन्यायधिश श्रेष्ठ
१४ फागुन, हेटौँडा । प्रधानन्यायधिश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई जनताको भरोसाको केन्द्रको रुपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले नेपालको संविधानले न्यायपालिकालाई नागरिकको हक अधिकारको संरक्षण र विधिको शासनलाई व्यवहारमा रुपान्तरण गर्ने दायित्व सुम्पेको बताउनुभयो । जिल्ला अदालत मकवानपुरको नवनिर्मित ७१ कोठे भवनको सोमबार उद्घाटन गर्नुहुँदै प्रधानन्याधिश श्रेष्ठले संविधानले प्रदान गरेको भुमिका र न्यायलय प्रतिको जनताको अपेक्षालाई पुरा गर्ने तर्फ सम्पूर्ण प्रयास केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सुशासन, जवाफदेहिता र उत्तरदायित्व लगायत न्यायिक मुल्य मान्यताको प्रवद्र्धन गर्ने विषय चुनौतीपूर्ण रहेको जिकिर गर्नुभयो । सेवाग्राहीको अपेक्षा अनुरुपको काम कारवाहीबाट मात्रै अदालतप्रतिको विश्वासलाई बढाउन सकिने प्रधानन्यायधिश श्रेष्ठको भनाई छ ।
प्रधानन्यायधिश श्रेष्ठले न्यायपालिकाको पाँचौ पञ्चवर्षीय रणनीतिक योजना निर्माणको प्रक्रियालाई अघि बढाएको दाबी गर्नुभयो । उहाँले योजनाबद्ध सुधारको प्रक्रियालाई न्यायपालिकाले आत्मसात गर्दै आएको बताउनुभयो । प्रधानन्यायधिश श्रेष्ठले जिल्ला अदालतहरुमा पनि मुद्धाको पेशी तोक्ने सन्दर्भमा छिट्टै स्वचालित पद्धति लागु गरिने उल्लेख गर्नुभयो । मुद्धाको अनलाइन रजिष्ट्रेशन कार्य अन्तिम चरणमा रहेको समेत उहाँले बताउनुभयो । प्रधानन्यायधिश श्रेष्ठले आमनागरिकहरुको अपेक्षा प्रति न्यायपालिका संवेदनशील रहेको पनि उल्लेख गर्नुभयो ।
प्रधानन्यायधिश श्रेष्ठले नवनिर्मित सुविधा सम्पन्न भवनबाट सम्पादन हुने काम कारवाहीमा थप प्रभावकारीत आउने समेत विश्वास व्यक्त गर्नुभयो । नवसिर्जनशिल÷स्लेट जेभिले १८ करोड १२ लाख ३३ हजार ३६ रुपैयाँमा ठेक्का प्राप्त गरेको थियो । तर मूल्य वृद्धि र भेरिएसन आदेश सहित भवन निर्माण २३ करोड ७७ लाख ४ हजार २ सय ४८ रुपैयाँमा सम्पन्न भएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।