निर्माण व्यवसायी महासंघको साधारणसभा चैत्र १६ र १७ गते हेटौंडामा हुने
११ फागुन, हेटौँडा । निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघको २५ औं बार्षिक साधारणसभा आगामी चैत्र १६ र १७ गते हेटौंडामा हुने भएको छ ।
शुक्रबार निर्माण व्यवसायी संघ मकवानपुरले पत्रकार सम्मेलनको आयोजना गर्दै मकवानपुर शाखाको सहआयोजकत्वमा कार्यक्रम हुने जानकारी दिएको हो । उक्त साधारण सभामा ७७ वटै जिल्लाका शाखाका प्रतिनिधी, एशोसियट सदस्य र वस्तुगत सदस्य लगायत पर्यवेक्षकहरुको सहभागिता हुने जनाइएको छ । साथै निर्माण क्षेत्रमा प्रयोग हुने उपकरणका बिक्रेताहरु लगायत उद्योगी व्यवसायिहरु गरि करिब १ हजार ८ सय निर्माण व्यवसायीहरुले सहभागिता जनाउने निर्माण व्यवसायी सँघ मकवानपुरका महासचिव राजेन्द्र प्रसाद चौलागाईले जानकारी दिनुभयो ।
उहाँले यस अवशरमा हेटौंडा आउने अतिथिहरुलाई मकवानपुरका धार्मिक , साँस्कृतिक र ऐतिहासिक क्षेत्रहरुको बारेमा जानकारी दिइ आन्तरिक पर्यटनमा समेत टेवा पुर्याउने जानकारी दिनुभयो ।