न्युनतम सेवा मापदण्ड मुल्यांकनमा हेटौंडा अस्पताल ९२ प्रतिशत अंक ल्याउन सफल

स्वर्णिम खबर
११ फाल्गुन २०८०, शुक्रबार १९:२३

११ फागुन, हेटौँडा । मदन भण्डारी स्वास्थय विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको हेटौंडा अस्पतालले सेवा प्रवाहमा क्रमिक रुपमा सुधार गर्दै ल्याएको छ ।
न्युनतम सेवा मापदण्ड मुल्यांकनमा ९२ प्रतिशत अंक ल्याएर हेटौंडा अस्पताल बागमती प्रदेशका प्रादेशिक अस्पताल मध्य पाँचौं भएको छ । बागमती प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाले गरेको मापदण्ड अनुसार अस्पतालले चालू आर्थिक वर्षमा ९२ प्रतिशत अंक ल्याएको हो । अस्पतालले प्रशासन र व्यवस्थापकीय तर्फ ८८ प्रतिशत, क्लिनिकल व्यवस्थापनमा ९५ प्रतिशत र अस्पताल सहयोग सेवातर्फ ८४ प्रतिशत अंक ल्याएको छ । विगतका वर्षहरुदेखि नै हेटौंडा अस्पतालले आफ्नो सेवा प्रवाहमा क्रमश सुधार गर्दै ल्याएको छ । आफ्नै सुविधा सम्पन्न भवनबाट अस्पतालले एमआरआई, सिटिस्क्यान, २४ शैयाको इर्मेजन्सी सेवा लगायतका सेवा प्रवाह गरिरहेको छ । थप दुई सय शैयाका लागि अस्पताल भवन निर्माणाधिन अवस्थामा छ । छिट्टै २ वटा मोडुलर ओटी सहित मृगौला प्रत्यारोपण सेवा सञ्चालनमा ल्याउने तयारी भैरहेको हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले बताउनुभयो ।


अस्पतालमा स्वाथ्यकर्मी र कर्मचारी गरि ३ सय ७१ कार्यरत छन् । न्युनतम सेवा मापदण्ड फलो–अप मापन समितिले लासघरको उचित व्यबस्थापन गर्नु पर्ने, फिजियोथेरापीमा आवश्यक सामान तथा जनशक्तिको व्यबस्थापन हुनु पर्ने, बिपत व्यबस्थापनको लागि भण्डारणको उचित व्यबस्थापन गर्नुपर्ने लगायतका सुझाव दिएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीको प्रमुख आतिथ्यता तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका निर्देशक दिपक तिवारी, निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटा लगायतकाले मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*