एपीएफ बागमती गोल्डकपको फाइनलमा, उपाधिको लागि मछिन्द्रसंग खेल्ने
८ फागुन, हेटौँडा । विभागीय टोली सशस्त्र प्रहरी एपीएफ छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा अर्काै विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै एपीएफले फाइनलमा स्थान बनाएको हो । एपीएफको जीतमा विदेशी खेलाडी फोडे फोफनाले निर्णायक गोल गरे । खेलको ३ मिनेटमा फोफनाले गरेको गोलले नै जीतको लागि पर्याप्त भयो । खेलको म्यान अफ द म्याच फोफना घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
जीतसँगै एपीएफले फाइनलमा मछिन्द्र फुटबल क्लबको भेट पक्का गरेको छ । यसअघि सोमबार भएको पहिलो सेमिफाइनल खेलमा न्यरोड टिम (एनआरटी) लाई ५–१ गोलले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश गरिसकेको छ । बिहिबार एपीएफ र मछिन्द्रबीच उपाधीका लागि भिडन्त हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सवर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।