एनआरटीलाई हराउँदै मछिन्द्र बागमती गोल्डकपको फाइनलमा प्रवेश
७ फागुन, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत मछिन्द्र फुटबल क्बल फाइनलमा प्रवेश गरेको छ ।
सोमबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा न्यरोड टिम एनआरटीलाई ५–१ गोलले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश गरेको हो । एनआरटी हालै सम्पन्न मकवानपुर गोल्डकपको उपबिजेता टिम पनि हो । मछिन्द्रको जीतमा हिसुव थपलिया र विदेशी खेलाडी स्टेफेन समीरले दुई–दुई तथा विमल घर्ती मगरले एक गोल गरे ।
खेलको म्यान अफ द म्याच मछिन्द्रका थपलिया घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । फाइनल प्रवेश गरेको मछिन्द्र अब उपाधीका लागि विभागीय टोलीहरु त्रिभुवन आर्मी क्बल र सशस्त्र प्रहरी बल एपीएफबीचको विजेतासँग बिहिबार प्रतिस्पर्धा गर्नेछ । आमीले आयोजक बागमती खेलकुद विकास समिति र एपीएफले चर्च ब्वाइज युनाइटेडलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।