बागमती गोल्डकपको समीफाइनल समीकरण पुरा
६ फागुन, हेटौँडा । बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ ।
आइतबार अन्तिम क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको हो ।बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा आयोजक बागमती खेलकुद विकास समितीलाई ४–० गोलले हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीको जीतमा जिलेस्पी जंग कार्कीले खेलको पहिलो हाफको २६ औं मिनेटमा, रास बुढा मगरले दोस्रो हाफको ८ औं, फत्तेमान घलले १८ औं मिनेटमा र कमल थापाले ३० औं मिनेटमा समान एक–एक गोल गरे । खेलको म्यान अफ द म्याच आर्मीका फत्तेमान घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
यसअघि भएका खेलहरुबाट सशस्त्र प्रहरी बलको एपीएफसहित मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटी सेमिफाइनल प्रवेश गरिसकेको छ । सेमिफाइनलका खेलहरु सोमबारबाट सुरु हुनेछ । प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा सोमबार मछिन्द्र फुटबल क्लब र न्युरोड टिमबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी मंगलबार हुने दोश्रो सेमिफाइनल खेलमा त्रिभुवन आमीले एपीएफसंग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।