बागमती गोल्डकपः हिमालयन शेर्पालाई हराउँदै आयोजक अन्तिम ८ मा प्रवेश
२ फागुन, हेटौँडा । आयोजक बागमती खेलकुद विकास समिति छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेको छ ।
बागमती गाउँपालिका ८ स्थित जनता माविको मैदानमा भएको खेलमा ए डिभिजन क्लब हिमालयन शेर्पालाई टाइब्रेकरमा ५–४ ले हराउँदै आयोजक बागमती बिजयी भएको हो । निर्धारित समय १–१ गोलको बराबरी भएसंगै खेल टाइब्रेकरमा पुगेको हो । खेलको पहिलो हाफमा शेर्पाले आयोजकलाई दबाबमा राखेको थियो । दोश्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको आयोजक बागमतीले ४७ औं मिनेटमा ललित चौलागाईको गोलबाट अग्रता लिएको हो । तर खेलको ९० औं मिनेटमा शेर्पाका सुदिप श्रेष्ठले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।
बागमतीका गोलरक्षक उमेश पाख्रिनले दोहोरो पहेंलो कार्ड पाएपछी मैदान बाहिरिए । त्यही अवसरलाई सदुपयोग गर्दै श्रेष्ठले पेनाल्टीमार्फत गोल गरेका हुन् । खेलको म्यान अफ दि म्याच बागमतीका ललित चौलागाई घोषित भए । प्रतियोगिता अन्तर्गत बिहिबार न्यु रोड टिम एनआरटी र नव जनजागृति क्लब सिमराबीच खेल हुनेछ । १० वटा टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ ।