उपमहानगरले कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छः मन्त्री भुसाल

मनिल महतो
१ फाल्गुन २०८०, मंगलवार १५:२३

१ फागुन, हेटौँडा । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।
देश विकासको प्रमुख आधार नै कृषि र पशुपालन भएको मन्त्री भुसालले बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाको ५५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री भुसालले नगरवासीका जीवनस्तर उकास्नका लागि पनि उपमहानगरले कृषि र पशुपालनको क्षेत्रमा जोड दिनुपर्ने बताउनुभयो । रोजगारीको सिर्जना र उत्पादन बृद्धिको लागि तीन वटै तहको सरकारबीच सहकार्य र समन्वय हुनुपर्नेमा उहाँको भनाई थियोे । मन्त्री भुसालले मित्रराष्ट्र चीनसँग भैसीको मासुको निर्यात गर्न सहमति कार्यान्वयन आएपछि भैसीपालन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।


मन्त्री भुसालले नेपाल जस्तो राष्ट्रले औद्योगिक क्षेत्रमा प्रतिस्पर्धा गर्न नसक्ने बताउनुभयो । उहाँले हेटौंडा कपडा उद्योग बन्द हुनुका कारणहरुबारे खोजी गर्नुपर्ने उल्लेख गर्नुभयो । मन्त्री भुसालले कुषि क्षेत्रमा नेपालले कसैसंग पनि प्रतिस्पर्धा गर्न नपर्ने जिकिर गर्नुभयो । उहाँले हेटौंडा उपमहानगर मुलुकको विकास गर्ने पालिकामध्ये एक रहेको समेत बताउनुभयो । उहाँले पालिकाहरूलाई आर्थिक उत्पादन सँगसँगै पालिकावासीहरूको जीवनस्तर उठाउन प्रयत्नशील रहन आग्रह गर्नुभयो ।
उपमहानगरका मेयर मिनाकुमारी लामाको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिले बोलेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*