सडनडेथमा फोफोनाको गोल निर्णायक बन्दा एपीएफ बन्यो मकवानपुर गोल्डकपको च्याम्पियन
२७ माघ, हेटौँडा । हेटौंडामा सम्पन्न छैठौं संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकपको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ ।
हेटौंडा ६ स्थित गौरीटार रंगशालामा शनिबार भएको फाइनलमा न्यूरोड टिम एनआरटीलाई सडन डेथमा ५–४ गोलअन्तरले पराजित गर्दै एपीएफले पहिलो पटक मकवानपुर गोल्डकपको उपाधि जितेको हो । एपीएफ र एनआरटीले निर्धारित समयमा गोलरहित बराबरी खेलेका थिए । ट्राइब्रेकरमा पनि ३–३ गोलको बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो ।
सडनडेथमा एपीएफका फोडे फोफोनाले गरेको गोल निर्णायक बन्यो । एनआरटीका लागि मोहित गुरुङले गोल गरे पनि रन्दीप पौडेलको प्रहार एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले बचाएका थिए । सडनडेथमा एपीएफका मणिकुमार लामा र फोफोनाले गोल गरेका हुन् । फाइनल खेलको म्यान अफ दी म्याच एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए । उपाधिसंगै एपीएफ नगद १५ लाख र एनआरटीले नगद १० लाख प्राप्त गरेको छ ।
गोल्डकपको सर्वोत्कृष्ट खेलाडी एपीएफका अनिष महर्जन भए । उनले ‘रोयल इन्फिल्ड’ मोटरसाइकल हात पारे । उत्कृष्ट गोलरक्षक एपीएफकै श्रेष्ठ, डिफेन्डर एपीएफका कुलदीप कार्की, मिडफिल्डर एनआरटीका जय गुरुङ, फर्वाड एनआरटीकै जोन ग्लोरी र प्रशिक्षक एपीएफका सुमन श्रेष्ठ भए । उनीहरुले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए ।
बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले विजेता, उपविजेता र उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।
२०६४ मा आयोजना भएको गोल्डकपको पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो । त्यसपछि २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ सालमा भएको तेस्रो संस्करण र त्यसपछिको चौथो संस्करणको उपाधि आर्मीले जितेको थियो । पाँचौं संस्करणको उपाधि मनाङ मस्र्याङग्दीले जितेको थियो ।