मकवानपुर गोल्डकपले शनिबार नयाँ च्याम्पियन पाउने

मनिल महतो
२६ माघ २०८०, शुक्रबार १७:१३

२६ माघ, हेटौंडा । हेटौंडामा जारी छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।
हेटौँडा ६ स्थित गौरीटार रंगशालामा हुने फाइनल खेल विभागीय टोली एपीएफ र न्युरोड टिम एनआरटी बिच प्रतिस्पर्धा हुनेछ । यी दुबै टोली पहिलो पटक मकवानपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । शुक्रबार भएको प्रि म्याच कन्फेरेन्समा दुबै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्नेमा आफुहरु विश्वस्त रहेको बताएका थिए । छोटो समयको तयारीका बाबजुद खेलाडीहरुले राम्रो प्रदर्शन गरेको एनआरटीका प्रशिक्षक जीवन सिङकेमानले बताउनुभयो । उहाँले धनकुटासंग भएको खेल फुटबल इतिहासकै एक दुर्लभ खेल भएको समेत प्रतिक्रिया दिनुभयो । र्निधारित समयमै गोल गर्न आफुहरुले फिनिसिङमा सुधार गरेको उहाँले दाबी गर्नुभयो ।
यसैगरी एपीएफका प्रशिक्षक सुमन श्रेष्ठले एनआरटीलाई आफुहरुले कमजोर टिमको रुपमा नलिएको बताउनुभयो । फाइनल खेलको लागि आफुहरुको आत्मबल उच्च रहेको समेत उहाँले बताउनुभयो ।
गोल्डकपको उपाधि बिजेताले नगद १५ लाख र उपबिजेता नगद १० लाख प्राप्त गर्ने छ । यसअघि त्रिभुवन आर्मीले २ पटक, थ्री स्टार, रिगल हेटौंडा रिसोर्ट र मनाङ मस्र्याङग्दी क्लबले समान १–१ पटक मकवानपुर गोल्डकपको उपाधि जितेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*