एपीएफ मकवानपुर गोल्डकपको फाइनलमा, उपाधिको लागि एनआरटीसंग खेल्ने
२५ माघ, हेटौँडा । विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ हेटौंडामा जारी छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
हेटौँडा ६ स्थित गौरीटार रंगशालामा बिहिबार भएको दोश्रो सेमिफाइनलमा सर्लाहीको बागमती युथ क्लबलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै एपीएफले फाइनलमा स्थान बनाएको हो । यससंगै एपीएफले उपाधिको लागि फाइनलमा न्युरोड टिम एनआरटीसंग भेट पक्का गरेको हो । बुधबार भएको पहिलो सेमिफाइनलमा धनकुटाको राजारानी क्लबलाई सडन डेथमा १७–१६ गोलअन्तरले पराजित गर्दै एनआरटीले फाइनलमा स्थान बनाएको थियो । घरेलु टोली रिगल हेटौंडा रिसोर्टलाई पराजित गरेर सेमिफाइनलमा स्थान बनाएको सर्लाहीले एपीएफसंग अपेक्षाकृत प्रदर्शन गर्न सकेन ।
खेलको सुरुदेखि नै एपीएफले सर्लाहीलाई दबाबमा राखेको थियो । पहिलो हाफमा अनिश महर्जनको गोलबाट एपीएफले अग्रता लिएको थियो । दोश्रो हाफमा प्रदीप लामा, फोडो फोफोना र सर्जफ सङले गोल गर्दै ४–० को जित सुनिश्चित्त गरेको हो । खेलको म्यान अफ दि म्याच एपीएफका अनिश महर्जन घोषित भए । फाइनल खेल माघ २७ गते हुनेछ । गोल्डकपको बिजेताले उपाधि सहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ ।