फागुनको दोश्रो साता हिउँदे अधिवेशन बोलाउने प्रदेश सरकारको तयारी
२३ माघ, हेटौँडा । बागमती प्रदेश सरकारले फागुनको दोश्रो साता हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ ।
प्रतिपक्षी दलहरु एमाले र राप्रपाले सरकारले अधिवेशन बोलाउन ढिलाई गरिरहेको बताइ रहँदा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकमा हिउँदे अधिवेशन बारे छलफल भएको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो । कांग्रेसको महासमिति बैठक र माओवादी केन्द्रको विधान अधिवेशन रहेकोले फागुनको दोश्रो हप्ता मात्र सरकारले अधिवेशन बोलाउने तयारी गरेको उहाँले बताउनुभयो । यसैगरी बैठकले भरतपुर महानगरपालिकालाई गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यको लागि ठेक्का प्रक्रिया अघि बढाउन आग्रह समेत गरेको छ । महानगरसंग भएको सम्झौता बमोजिम प्रदेश सरकारले लगानी गर्ने ७५ करोडको ७० प्रतिशत अर्थात् ५२ करोड ५० लाखको स्रोत सुनिश्चित्त भइसकेको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिनुभयो ।
यसैगरी मन्त्रीपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको माग अनुसार संघीय समपुरक र विशेष अनुदानको लागि १०–१० वटा योजना सिफारिस गर्ने निर्णय गरेको छ । अघिल्लो आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न भएको तर भुक्तानी गर्न बाँकी रकमहरु भुक्तानी गर्ने निर्णय भएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिनुभयो ।
मुख्यमन्त्री जम्कट्टेलले केही प्रक्रियाहरु पुरा गर्नुपरेको कारण निर्माण कार्यको भुक्तानी गर्न ढिलाई भएको बताउनुभयो ।