झरना साहित्यिक परिवार मकवानपुरले ९ जना स्रष्टाहरूलाई सम्मान गर्ने

स्वर्णिम खबर
२२ माघ २०८०, सोमबार १९:१७

२२ माघ, हेटौँडा । झरना साहित्यिक परिवार मकवानपुरले फागुन ११ र १२ गते बकैया गाउँपालिकामा बकैया कला–साहित्य महोत्सव २०८० गर्ने भएको छ ।
बकैया–९ शिखरपुर स्थित कालिदेवी माविमा हुने महोत्सवमा यस वर्ष ९ जना स्रष्टाहरूलाई सम्मानित गरिने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस वर्ष प्रदान गरिने पुरस्कारको बारेमा झरनाले जानकारी गराएको छ । साहित्यमा योगदान गरेबापत २१ हजार १ सय २१ नगद राशिको होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०८० बाट काठमाडौँका डा. गीता त्रिपाठी सम्मानित हुनुहुने भएको छ । यस्तै, मुक्तकमा योगदान गरेवापत १५ हजार ५ सय ५५ राशिको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मानबाट मोरङका बाबुराम पोखरेललाई सम्मानित गर्न लागिएको झरनाले जनाएको छ । नगद रू १५ हजार ५ सय ५५ राशिसहितको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान साम्ब ढकाललाई प्रदान गरिने भएको छ । ढकाललाई जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत यो सम्मान प्रदान गर्न लागिएको हो ।
त्यस्तै, खडानन्द–मनमाया प्रतिभा सम्मान स्याङ्जाका मिलन समीर, सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान मकवानपुरे गजलकार बिमला कार्की “सुसं”, सञ्जीवनि बुटि साहित्य सेवा सम्मान भरतप्रसाद सापकोटालाई प्रदान गरिने भएको छ । तीनैवटा पुरस्कारको राशी ७ हजार ७ सय ७७ रहेको छ । पत्रकारिताका माध्यमबाट संस्थाको प्रचारप्रसार गर्नसहयोग गरेवापत ११ हजार १ सय ११ रुपैयाँ राशीकोे गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान पत्रकार रामकुमार एलनलाई प्रदान गरिने झरना साहित्यिक परिवारका सचिव मसान उपाशकले जानकारी दिनुभयो । झरना–बकैया नवप्रतिभा पुरस्कार–२०८० गजलकार अजर फुयाँललाई पुरस्कृत गरिने जानकारी गराइएको छ । संस्थाका अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षतामा पत्रकार सम्मेलन भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*