मकवानपुर गोल्डकपः घरेलु टोली पहिलो खेलमै पराजित, सर्लाही अन्तिम ४ मा प्रवेश
२१ माघ, हेटौँडा । घरेलु टोली रिगल हेटौंडा रिसोर्ट हेटौंडामा जारी छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।
हेटौंडा ६ स्थित गौरीटार रंगशालामा भएको खेलमा बागमतीको सर्लाही युथ क्लबसंग ट्राइब्रेकरमा ४–२ ले पराजित हुँदै घरेलु टोली प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको हो । यता लगातार दोश्रो जितसंगै सर्लाहीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । निर्धारित समय २–२ गोलको बराबरीमा सकिएसंगै खेलको निर्णय ट्राइब्रेकरबाट लिएको हो । घरेलु दर्शकको राम्रो साथ पाएपनि घरेलु टोलीलाई सर्लाहीले सुरु देखि नै दबाबमा राखेको थियो । पहिलो हाफको ४४ औं मिनेटमा अभि लामाको गोलबाट सर्लाहीले अग्रता लिएको थियो ।
दोश्रो हाफमा घरेलु टोलीले केही सुधारिएको प्रदर्शन गरेको थियो । दोश्रो हाफको १० औं मिनेटमा घरेलु टोलीका विदेशी खेलाडी स्टेफेन समिरले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । पुनः सर्लाहीका अनिल राना मगरले ३६ औं मिनेटमा गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाएका थिए । दोश्रो हाफको अन्त्य तिर घरेलु टोलीका स्टेफेनले व्यक्तिगत दोश्रो गोल गर्दै खेललाई २–२ को स्थितिमा ल्याएका थिए । प्रतियोगितामा सोमबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र धनकुटाको राजारानी क्लबबीच खेल हुनेछ । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले दशलाख रुपैया प्राप्त गर्नेछन् ।