मकवानपुर गोल्डकपः एनआरटी सेमिफाइनलमा, ट्राइब्रेकरमा चर्च ब्वाइज पराजित
२० माघ, हेटौँडा । न्युरोड टिम एनआरटी हेटौंडामा जारी छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ ।
हेटौंडा ६ स्थित गौरीटार रंगशालामा भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै एनआरटीले सेमिफाइनलमा स्थान बनाएको हो । निर्धारित समय २–२ गोलको बराबरीमा सकिएसंगै खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो । दुबै टिमले खेलको दोश्रो हाफमा गोल गरेका थिए । दोश्रो हाफको ८ औं मिनेटमा चर्च ब्वाइजले राजेश परियारको गोलबाट अग्रता लिएको थियो । त्यस्तै दोश्रो हाफकै ३१ औं मिनेटमा माटिनले गोल गर्दै चर्च ब्वाइजको अग्रतालाई २–० पु¥याएका थिए । तर अशोक थापा र जल ग्लोरीको १–१ गोलबाट एनआरटी खेलमा फर्किएको थियो ।
खेलको म्यान अफ दि म्यास एनआरटीका विवेक गुरुङ घोषित भएका थिए । प्रतियोगितामा आइतबार आयोजक टोली रिगल हेटौंडा रिसोर्ट र सर्लाहीको बागमती युथ क्लबबीच खेल हुनेछ । यसअघि बागमतीले विदेशी क्लब भुटानको पारो फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै बिजयी सुरुवात गरेको थियो । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले दशलाख रुपैया प्राप्त गर्नेछन् ।