मकवानपुर गोल्डकपः पुलिस पहिलो खेलमै स्तब्ध, राजारानी क्लब २–० ले बिजयी
१९ माघ, हेटौँडा । विभागीय टोली नेपाल पुलिस क्लब हेटौंडामा जारी छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो खेलमै स्तब्ध भएको छ ।
हेटौंडा ६ स्थित गौरीटार रंगशालामा भएको खेलमा पुलिस धनकुटाको राजारानी क्लबसंग २–० ले पराजित भएको हो । दुबै गोल खेलको दोश्रो हाफमा भएको हो । पहिलो हाफमा दुबै टोलीले गोलको अवसरलाई सदुपयोग गर्न सकेन । धनकुटाले खेलको दोश्रो हाफको ५२ औं मिनेटमा अजय माटिसको गोलबाट अग्रता लिएको थियो । त्यस्तै ६३ औं मिनेटमा सुशील लामाले गोल गर्दै टोलीलाई २–० को जित दिलाए । जितसंगै धनकुटाले क्वाटरफाइनलमा पनि स्थान सुरक्षित गरेकोछ । धनकुटाका अजय माटिस खेलको म्यान अफ दी म्याच समेत घोषित भए ।
प्रतियोगितामा शनिबार चर्च ब्वाइज युनाइटेड क्लब र न्युरोड टिम एनआरटी बीच खेल हुनेछ । यसअघि एनआरटीले साविकको उपबिजेता हिमालय शेर्पा क्लबलाई ३–० ले पराजित गर्दै बिजयी सुरुवात गरेको थियो । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले दशलाख रुपैया प्राप्त गर्नेछन् ।