राजनीतिक स्थिरता नचाहने शक्तिहरु क्रियाशील भइरहेको छः प्रदेश प्रमुख शर्मा
१८ माघ, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले राजनीतिक स्थिरता नचाहने शक्तिहरु क्रियाशील रहेको बताउनुभएको छ ।
बागमती प्रदेशसभाको छैटौं वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख शर्माले गाउँ–गाउँमा सिंहदरबार भन्ने नारा कति सार्थक भयो भन्ने विषयमा सबैले एकचोटी समीक्षा गर्नुपर्ने बताउनुभयो । लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कुनै पनि शक्तिले हल्लाउन नसक्ने उहाँको भनाई थियो । प्रदेश प्रमुख शर्माले प्राप्त उपलब्धिहरुलाई रक्षा गर्दै थप उपलब्धिहरु हासिल गर्न मन, बचन र कर्मले लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिमा सत्तापक्ष र प्रतिपक्ष एउटै सिक्काका दुई पाटा भएको बताउनुभयो । प्रदेशसभामा रहेको विषयगत समितिहरुले नेतृत्व पाउन नसक्नु दुःखको विषय भएको उहाँको भनाई थियो । प्रदेश प्रमुख शर्माले उचित प्रतिफल दिने गरी सरकारले काम गर्न सक्दा जनताले व्यवस्था प्रति नै निराश पोख्न सक्ने बताउनुभयो ।
यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकार नयाँ नीतिका साथ काम गरिरहेको बताउनुभयो । असल नीति बनाउन सके सरकार परिवर्तन भए पनि जनताको आधारभुत कुरा नरोकिने उहाँको भनाई थियो । मुख्यमन्त्री जम्कट्टेलले जनता अहिले संघीयताको विरुद्धमा नभएको दाबी समेत गर्नुभयो । सांसद्, मन्त्रीहरुले नै निराशा पोख्ने काम गरेको मुख्यमन्त्री जम्कट्टेलले जिकिर समेत गर्नुभयो ।
सभामुख भुवन पाठकको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका नेता जनन्नाथ थपलीया, बागमती प्रदेशका अर्थिक मामिला मन्त्री बहादुर सिंह लामा लगायतकाले मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा प्रदेश दर्पण नामक पुस्तक विमोचन गरिनुका साथै मोवाइल एप्स लन्च समेत गरिएको थियो । कार्यक्रममा संसद बैठकमा नियमित उपस्थिती जनाउने प्रदेशसभा सदस्य र सचिवालयका उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।