मकवानपुर गोल्डकपः हिमालयन शेर्पा पहिलो खेलमै स्तब्ध
१७ माघ, हेटौँडा । हिमालयन शेर्पा क्लब हेटौंडामा जारी छैटौं संस्करणको शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकपको पहिलो खेलमै स्तब्ध भएको छ ।
हेटौंडा ६ गौरीटार रंगशालामा भएको खेलमा हिमालयन शेर्पा न्यरोड टिम एनआरटीसंग ३–० गोलअन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । खेलको सुरुवातबाटै शेर्पालाई दबाबमा राखेको एनआरटीले पहिलो हाफको २९ औं मिनेटमा सरोज तामाङको गोलबाट अग्रता लिएको थियो । त्यस्तै दोश्रो हाफको ११ औैं मिनेटमा रोहण खड्गी र ४० औं मिनेटमा सुमित श्रेष्ठले १–१ गोल गर्दै एनआरटीलाई ३–० ले जित दिलाए । जितसंगै एनआरटीले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । खेलको म्यान अफ दि म्याच एनआरटीकै सरोज तामाङ घोषित भए । गोल्डकपमा बिहिबार मच्छिन्द्र फुटबल क्लब र शसस्त्र प्रहरीको एपीएफ क्लबबीच खेल हुनेछ । प्रतियोगिताको बिजेताले नगद १५ लाख, उपविजेताले १० लाख र सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछ । गोल्डकपमा आयोजकसहित आठवटा ए डिभिजन क्लब, एउटा विदेशी, दुईवटा मोफसलका क्लब गरी १२ टिमले सहभागिता जनाएका छन् ।