अहिलेको व्यवस्थाबाट जनता निराश छैनः मुख्यमन्त्री जम्कट्टेल

मनिल महतो
१६ माघ २०८०, मंगलवार २०:०९

१६ माघ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जनता निराश नभएको बताउनुभएको छ ।
उहाँले व्यवस्थाको विरोध जनताले कही कतै पनि नगरेको जिकिर गर्नुभयो । शहीद दिवसको अवसरमा रिपोर्टस् क्लब नेपाल, मकवानपुर शाखाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले सांसद्, नेता र मन्त्रीहरु मात्र असन्तुष्ट रहेको बताउनुभयो । अहिलेको व्यवस्था समावेशी भएकोले जनताले व्यवस्थाको विकल्प नखोज्ने पनि उहाँले दाबी गर्नुभयो । सत्ता गुमेका समान्तवादी तत्वहरुले मात्र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विरोध गरेको उहाँको भनाई छ । मुख्यमन्त्री जम्कट्टेलले विगतमा हेपिएका समुदायहरु ०७२ सालमा जारी भएको संविधानकै कारण सांसद्, मन्त्री र मुख्यमन्त्री हुन पाएको समेत उल्लेख गर्नुभयो ।


मुख्यमन्त्री जम्कट्टेलले चिकित्सा शिक्षा आयोगको परीक्षामा पास भएका सबैले डाक्टर र नर्स पढ्न पाउने नीति सरकारले ल्याउन लागेको बताउनुभयो । कोटा प्रणालीको आधारमा पढ्न पाउने कानुनलाई च्यातेर भएपनि डाक्टर र नर्स पढ्न चाहने जति सबैलाई पढ्न पाउन वातावरण बनाउने जिम्मा प्रदेश सरकारले लिने पनि उहाँले बताउनुभयो । मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकार विगतको अनुभव र प्रदेशबासीको आवश्यकतालाई समेत मध्यनजर गर्दै अघि बढेको दाबी गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले संविधानलाई समेत नचिन्ने ऐनहरुलाई समयानुसार परिमार्जन गर्दै जाने बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*