दोश्रो संस्करणको विद्यालय स्तरीय टि–२० क्रिकेट प्रतियोगिता हुने

मनिल महतो
८ माघ २०८०, सोमबार १७:२१

८ माघ, हेटौँडा । स्व.निरज श्रेष्ठको स्मृतिमा दोश्रो संस्करणको विद्यालय स्तरीय टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै मकवानपुर क्रिकेट संघले प्रतियोगिता बारे जानकारी गराएको हो । माघ २० गतेबाट हेटौंडा ४ स्थित हुप्रामा सञ्चालन हुने प्रतियोगितामा सामुदायिक र निजी विद्यालय गरी कुल १६ विद्यालयको सहभागिता रहने कार्यक्रम संयोजक संजोग पोखरेलले जानकारी दिनुभयो । ११ दिनसम्म चल्ने प्रतियोगितामा २७ खेल हुनेछ । पत्रकार सम्मेलनमा बोल्नुहुँदै संयोजक पोखरेलले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु छनौट गरी अण्डर १६ टिम निर्माण गरी प्रशिक्षण गराउने बताउनुभयो । उहाँले प्रथम र द्वितीय हुने टिमलाई नगदसहित ट्रफी र मेडल प्रदान गरिने पनि जानकारी गराउनुभयो ।
त्यसैगरी विधागत तर्फ उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र प्लेयर अफ दि सिरिजलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको अनुमानित लागत ५ लाख ५० हजार रहेको कार्यक्रम संयोजक पोखरेलले बताउनुभयो । यसअघि भएको पहिलो संस्करणको उपाधि भुटनदेवी माविले जितेको थियो । पत्रकार सम्मेलनमा राष्ट्रिय अम्पयार सुनिल बर्तौला, मकवानपुर क्रिकेट संघका अध्यक्ष करण महत्रा, सचिव बिनोद बानिंया, कोषाध्यक्ष धिरज श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*