भेटघाट र नागरिक अभिनन्दनबाट राजतन्त्र फर्किदैनः दुर्गा प्रसाई
६ माघ, हेटौँडा । व्यवसायी दुर्गा प्रसाईले फागुन १ गतेदेखि बृहत आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल मकवानपुर जिल्लाको आयोजनामा भएको आम सभालाई सम्बोधन गर्नुहुँदै व्यवसायी प्रसाईले आफुहरुको आन्दोलनमा साथ दिन पूर्व राजा ज्ञानेन्द्र शाहदेखि राप्रपा, एमालेसम्मका नेताहरुलाई आह्वान गर्नुभयो । व्यवसायी प्रसाईले राप्रपाका नेताहरुले राजतन्त्र ल्याउन नसक्ने जिकिर गर्नुभयो । भेटघाट र नागरिक अभिनन्दनबाट राजतन्त्र नफर्किने समेत प्रसाईको भनाई थियो । उहाँले नेपाल बनाउनको लागि नेपाली व्यवसाय बलियो हुनुपर्ने बताउनुभयो । ढुंगा हानेर, कालोमोसो दल्दैमा आफ्नो अभियान नरोकिने समेत उहाँले स्पष्ट पार्नुभयो ।
सभालाई सम्बोधन गर्नुहुँदै व्यवसायी प्रसाईले आफुहरुले कुनै राजनीतिक फण्डा उठाएर नहिडेको दाबी गर्नुभयो । नागरिकहरुलाई सुकुम्बासी हुनबाट रोक्न आफु लागि परेको उहाँको भनाई थियो । व्यवसायी प्रसाईले अहिलेको व्यवस्था परिवर्तन भएमात्र बैंकबाट घर जग्गा फिर्ता हुने बताउनुभयो । उहाँले नेपालको बैंकहरुलाई कालको संज्ञा दिनुभयो । २० लाख भन्दा कमको ऋण मिनाहा गर्नुपर्ने उहाँको भनाई थियो ।
सभामा नारायणी अञ्चल संयोजक विजय तिमल्सिना, जिल्ला संयोजक भीम राउत लगायत बारा, पर्साका सहकारी पीडितहरुको उपस्थिति रहेको थियो ।