लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः मन्त्री श्रेष्ठ

मनिल महतो
५ माघ २०८०, शुक्रबार १९:१९

५ माघ, हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै हुन सक्ने बताउनुभएको छ ।
मन्त्री श्रेष्ठले लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र लोकतन्त्रको विकल्प निरङकुश राजतन्त्र नहुने बताउनुभयो । नेपाल प्रेस युनियन मकवानपुरले हेटौंडामा आयोजना गरेको नेपाली सञ्चारकर्मीहरुको अधिकार, चुनौती र समाधान विषयक कार्यशालामा बोल्दै मन्त्री श्रेष्ठले लोकतान्त्रिक व्यवस्थामा मात्रै नेपाली पत्रकारिता फस्टाउन सक्ने दावी गर्नुभयो । उहाँले लोकतन्त्र संस्थागत हुने गरी सञ्चारसंग सम्बन्धित ऐनहरुलाई आवश्यकता अनुसार संंशोधन गर्ने बताउनुभयो । मन्त्री श्रेष्ठले प्राप्त उपलब्धिहरुको रक्षा गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो ।


मन्त्री श्रेष्ठले संंघीय ससद्मा सञ्चार मन्त्रालयले दर्ता गराएको विधेयकमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । उक्त विधेयक संविधानको मर्म विपरीत भएको उहाँको भनाई थियो । लोकतन्त्रलाई विस्थापित गरेर राजतन्त्र ल्याउन खोजेको हो भन्दै मन्त्री श्रेष्ठले प्रश्न समेत गर्नुभयो । उहाँले संघीयता र धर्म निरपेक्षतालाई समेत नचिन्ने ऐनहरुलाई समयानुकुल परिमार्जन समेत गर्न नसकेको बताउनुभयो । मन्त्री श्रेष्ठले सञ्चार माध्यम सहित अन्य क्षेत्रमा पनि संविधानको मुल मर्म अनुसार कानुन आउन नसकेको र आएका कानुनहरुको पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको जिकिर गर्नुभयो ।
कार्यक्रममा सञ्चार कानूनका जानकार अधिवक्ता संजीव घिमिरेले नेपाली सञ्चारकर्मीहरुको अधिकार, चुनौती र समाधान विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारी, महासचिव दीलिप पौडेल, पूर्व बरिष्ठ उपाध्यक्ष दीपक आचार्य, मकवानपुरका संस्थापक अध्यक्ष राममणी दाहाल, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष शिव देवकोटा, पूर्व अध्यक्ष प्रताप विष्टलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*