माघ १६ गतेदेखि अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप हुने

स्वर्णिम खबर
५ माघ २०८०, शुक्रबार १९:०८

५ माघ, हेटौँडा । यस वर्षको स्थानिय तह शहिद स्मृती अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप माघ १६ गतेदेखि २७ गतेसम्म हुने भएको छ ।
छैठौ संस्करणको गोल्डकप हेटौडा–६ स्थित निर्माणाधिन गौरीटार रंगशालामा हुने आयोजक जिल्ला फुटबल संघले शुक्रबार पत्रकार सम्मेलन मार्फत् जानकारी गराएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय सहित मकवानपुरका दश वटै स्थानीय तहको सहयोगमा हुन लागेको प्रतियोगितामा आयोजक सहित आठवटा ए डिभिजन, एउटा विदेशी, दुईवटा मोफसलका क्लबहरु सहभागी हुने छ । ए डिभिजनका चर्च व्वाइज, संकटा, हिमालयन शेर्पा, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र, मनाङ मर्स्याङदी र थ्रीस्टार क्लब सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । प्रतियोगितामा भुटानको पारो एफसी, सर्लाहीको वाग्मती युथ क्लब र धनकुटाको राजारानी क्लब सहभागी हुनेछन् । आयोजकले रिगल हेटौंडा रिसोर्टको नाममा सहभागी हुने भएको छ ।
प्रतियोगिताको विजेता टोलिले शिल्ड, मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट हुने खेलाडीलाई प्रति खेलाडी २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । यस वर्षपनि सर्वोत्कृष्ट खेलाडीलाई बुलेट बाइकको व्यवस्था गरिएको छ । पर्शुराम स्मृती प्रतिष्ठनले बुलेटबाइट प्रायोजन गरेको फुटबल संघ जिल्ला अध्यक्ष टीकाराम लामाले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालनका लागि १ करोड ६० लाख खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिता हेटौंडा १५ स्थित डाँफे युथ क्लबको व्यवस्थापनमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*