गणतन्त्र भित्रै पसेर गणतन्त्रलाई नै खोक्रो बनाउछुः सांसद सिंह

मनिल महतो
३ माघ २०८०, बुधबार १६:०२

३ माघ, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् दिपकबहादुर सिंहले अहिलेको प्रादेशिक संरचनालाई जनताले थेग्न नसक्ने बताउनुभएको छ ।
नेपाल जस्तो राष्ट्रले ७–७ वटा प्रदेशलाई धान्न नसक्ने उहाँले जिकिर गर्नुभयो । राप्रपा मकवानपुरको आयोजना र रिपोर्टर्स क्लब नेपाल, मकवानपुरको संयोजनमा बुधबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा बोल्नुहुँदै सांसद् सिंहले जनताबाट उठाएको राजश्वले प्रदेशका मन्त्रीहरुलाई कहिले सम्म पाल्ने भन्ने प्रश्न गर्नुभयो । प्रदेशको काम अहिले सांसद्हरुलाई मन्त्री बनाउनु र सेवा सुविधा दिनु मात्र भएको उहाँको भनाई थियो । संघीयता खारेज गर्ने सवालमा कोशी र बागमती प्रदेशका सभामुख सहित सांसद्हरुलाई पार्टीले फिर्ता बोलाउने उहाँले बताउनुभयो ।


सांसद् सिंहले अहिलेको व्यवस्थाविरुद्ध पार्टीले गर्न लागेको आन्दोलनले गति लिन साथ संघीय सांसद्बाट पनि राजीनामा दिन पछि नहट्ने स्पष्ट पार्नुभयो । उहाँले गणतन्त्र वादीहरुले बनाएको संविधानलाई नै टेकेर अहिलेको व्यवस्था विरुद्ध लड्ने बताउनुभयो । सांसद् सिंहले गणतन्त्र भित्रै पसेर गणतन्त्रलाई नै खोक्रो बनाउँदै आफ्नो विचारलाई स्थापित गर्ने बताउनुभयो ।
पूर्वाधार विकास समितिको सभापति समेत रहनुभएका सांसद् सिंहले जनता सुकुम्बासी नहुने गरी सडक विस्तार गर्नुपर्ने बताउनुभयो । सरकारले स्रोतको सुनिश्चित्तता गरेर मात्र हेटौंडाको सडक विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सांसद् सिंहले हेटौंडा काठमाडौं जोड्ने राजमार्गहरुको निर्माण कार्य छिटो सक्न पनि सरकारलाई ध्यानाकर्षण गराइसकेको बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*