नयाँ व्यवस्थापनसहित चुरेहिल हस्पिटल सञ्चालन

मनिल महतो
३ माघ २०८०, बुधबार ११:३७

३ माघ, हेटौँडा । हेटौंडाको चुरेहिल हस्पिटल नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएको छ ।
चितवन मेडिकल कलेज (सिएमसी) ले ६० प्रतिशत लगानी गरेसँगै अस्पताल माघ ३ गतेदेखि नयाँ व्यवस्थापनमा सञ्चालनमा आएको हो । गत भाद्र ७ गते सिएमसीसंग मर्ज गरेको हस्पिटलको बुधबार एक समारोहबीच शुभारम्भ गरिएको हो । चितवन मेडिकल कलेजका निर्देशक दयाराम लम्सालले उपचार सेवा विस्तार गर्ने अभियानलाई आत्मसाथ गर्दै हस्पिटल मर्ज गर्दै सञ्चालन गरेको बताउनुभयो । हेटौंडाबाट बिरामीहरु रिफर भएर चितवन र काठमाडौं जान नपरोस् भन्ने आफुहरुको उद्देश्य रहेको उहाँले उल्लेख गर्नुभयो । निर्देशक लम्सालले चिकित्सकहरुको व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभयो ।


यसैगरी सिएससीका सिइओ प्रताप देवकोटाले इमर्जेन्सी, प्रयोगशाला, शल्यक्रिया, प्रसुती, ट्रमा, फार्मेसी, अन्तरंग लगायतका सेवाहरु २४ सैं घण्टा सञ्चालन हुने जानकारी दिनुभयो । चुरेहिलमा सर्जिकल आईसियू, मेडिकल आईयिसु , पोष्टअप, अत्याधुनिक अप्रेशन कक्षको सुविधा रहेको सिईओ देवकोटाको भनाई छ ।
यस्तै अस्पतालका अध्यक्ष कृष्ण कटुवालले २५ बेडको हस्पिटललाई एक सय बेडमा विस्तार गरिने बताउनुभयो । हस्पिटलमा छिटै नर्सिङ विषयको पठनपाठन गर्ने योजना पनि रहेको उहाँले बताउनुभयो ।
जटिल अप्रेशनदेखि जटिल प्रसुति सेवाको लागि चितवन, काठमाडौँ रिफर गर्नुपर्ने बाध्यता हट्ने अस्पतालले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*