नेताको पछाडि लाग्ने हलिगोठालालाई जिएम नियुक्त गर्न पाईदैनः सभापति सिंह

मनिल महतो
२८ पुष २०८०, शनिबार १९:२३

२८ पुस, हेटौँडा । पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले हेटौंडा सिमेन्ट उद्योग नचल्नुको मुख्य कारण राजनीतिक नियुक्ति भएको बताउनुभएको छ ।
उद्योग संघ मकवानपुरको २२ औं साधारणसभालाई सम्बोधन गर्नुहुँदै सभापति सिंहले राजनीतिक दलहरुले सिमेन्ट उद्योगलाई आफ्नो नजिकको कार्यकर्ता भर्ती गर्ने थलो बनाएको टिप्पणी गर्नुभयो । अनुभवी व्यक्तिलाई उद्योगको नेतृत्व दिनेभन्दा पनि नेताको पछाडि लाग्ने अयोग्य व्यक्तिलाई नियुक्ती गर्ने गरेको कारण उद्योग धरायसी भएको सभापति सिंहको भनाई छ । उहाँले उद्योगलाई बचाउनको निम्ति राजनीतिबाट टाढा उठ्नुपर्ने बताउनुभयो । सभापति सिंहले मयुरधाप औद्योगिक क्षेत्र निर्माणमा पनि सरकारले ठोस निर्णय लिनुपर्ने बताउनुभयो ।
यसैगरी नेकपा एमालेका सचेतक महेश बर्तौलाले मयुरधाप औद्योगिक क्षेत्रमा मध्यवर्ती क्षेत्रले गरेको दादागिरी अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड भाडा उठाउनको लागि मात्र निर्माण गरेको भन्दै प्रश्न समेत गर्नुभयो । सचेतक बर्तौलाले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले समन्वयकारी भुमिका निर्वाह गर्न नसकेको जिकिर गर्नुभयो । उहाँले नियम र विधीमा चल्ने उद्योगी, व्यवसायीहरु बाच्न सक्ने स्थितिमा नरहेको बताउनुभयो ।
सचेतक बर्तौलाले उद्योगी, व्यवसायीहरुको हकहितको लागि सरकारले ल्याउने नीतिमा एमालेले सदैव साथ दिन तयार रहेको समेत स्पष्ट पार्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*