निजी क्षेत्र बिना मुलुकको समृद्धि असम्भवः मन्त्री रिजाल
२८ पुस, हेटौँडा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सरकारको एक्लो प्रयासबाट मात्र मुलुकको आर्थिक समृद्धि सम्भव नहुने बताउनुभएको छ ।
उहाँले सरकार र नीजि क्षेत्रबीच समन्वय र सहकार्य हुनुपर्ने बताउनुभयो । उद्योग संघ मकवानपुरको २२ औं साधारणसभालाई शनिबार हेटौंडामा सम्बोधन गर्नुहुँदै मन्त्री रिजालले सामाजिक र आर्थिक विकासको लागि निजी क्षेत्रले दिगो र फराकिलो आधार खडा गर्ने उल्लेख गर्नुभयो । रोजगारीको सिर्जना र औद्योगिक विकासको प्रमुख माध्यम नै निजी क्षेत्र भएको उहाँले बताउनुभयो । मन्त्री रिजालले समाजवादी अर्थतन्त्र निर्माणको लागि निजी क्षेत्रको अधिकतम क्रियाशीलता जरुरी रहेको जिकिर गर्नुभयो । राष्ट्रको आद्योगिक विकासको लागि सरकार आफैं उद्योग सञ्चालन गर्ने भन्दा निजी क्षेत्रलाई नै उद्योग सञ्चालन गर्ने वातावरण बनाउन लागि परेको मन्त्री रिजालले दाबी गर्नुभयो ।
मन्त्री रिजालले हेटौंडा औद्योगिक क्षेत्रका पूर्वाधारहरु निर्माणको लागि आवश्यक बजेट विनियोजन गरेको पनि बताउनुभयो । औद्योगिक क्षेत्रका विद्युत क्षमता बढाउनको निम्ति विद्युत प्राधिकरणसंग छलफल भइरहेको पनि उहाँले जानकारी दिनुभयो । मन्त्री रिजालले जमिन लिजमा लिएर उद्योग सञ्चालन नगर्ने प्रवृत्तिलाई निरुत्साहित गरिने बताउनुभयो । मयुरधाप औद्योगिक क्षेत्रलाई पिपिपि मोडेलमा निर्माण गर्ने गरि काम भइरहेको उल्लेख गर्नुहुँदै मन्त्री रिजालले निर्माणको क्रममा आइपरेका समस्याहरुलाई समाधान गर्न सरकार गम्भीर रहेको पनि उल्लेख गर्नुभयो ।
मन्त्री रिजालले उद्योगी, व्यवसायीहरुलाई दुःख दिएर राष्ट्र समृद्धि नहुने धारणा राख्नुभयो । उद्योगीहरुलाई लगानी सुरक्षाको प्रत्याभुति दिलाउन सबै एकजुट हुनुपर्ने उहाँले बताउनुभयो ।