अहिलेको निर्वाचन प्रणाली नै भ्रष्टचारको मुख्य मुहानः मन्त्री श्रेष्ठ

मनिल महतो
२६ पुष २०८०, बिहीबार १६:१९

२६ पुस, हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले अहिलेको निर्वाचन प्रणाली नै भ्रष्टचारको मुख्य मुहान भएको बताउनुभएको छ ।
भ्रष्टचार न्युनिकरण गर्न निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्ने उहाँले बताउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको आयोजनामा भएको भ्रष्टचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुुहँदै मन्त्री श्रेष्ठले राजनीतिक दलहरुले निर्वाचन प्रणाली परिवर्तन बारे बहस गर्नुपर्ने जिकिर गर्नुभयो । उहाँले प्रत्यक्ष विशेषता सहितको पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान सके केही हदसम्म भ्रष्टचारको समस्या हल हुने बताउनुभयो । निश्चिचत मापदण्डको आधारमा राज्यले नै दलहरुलाई निर्वाचन खर्च उपलब्ध गराउने व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री श्रेष्ठले दलीय भागबण्डाको आधारमा नियुक्ति, सरुवा, बढुवा गर्नुपर्ने प्रथालाई हटाउनुपर्ने बताउनुभयो ।


मन्त्री श्रेष्ठले भ्रष्टचारको जरा राजनीतिक नेतृत्व देखि कर्मचारी तन्त्र हुँदै समाजमा संस्कृतिको रुपमा फैलिएको बताउनुभयो । एकले अर्कालाई दोषारोपण गरेर भ्रष्टचारको समस्या समाधान नहुने उहाँले बताउनुभयो । मन्त्री श्रेष्ठले सम्पत्ति र सत्तालाई शक्तिको मुख्य श्रोत मान्ने गलत भाष्य समाजमा स्थापित हुँदै गएको जिकिर गर्नुभयो । उहाँले अख्तियारलाई राजनीतिक दबाबबाट टाढा राख्नुपर्नेमा जोड दिनुभयो । मन्त्री श्रेष्ठले अख्तियारको संरचनाहरु विकास र समृद्धिको बाधक नभई साधक बन्नुपर्ने उल्लेख गर्नुभयो ।


यसैगरी आयोगका आयुक्त किशोरकुमार सिलवालले निर्माण भएका कानुनहरुको पालना गर्न नेतृत्व वर्ग जिम्मेवार बन्नुपर्ने बताउनुभयो । चुनावको क्रममा जनतासंग गरेका प्रतिबद्धताहरु पुरा गर्ने क्रममा राजनीतिज्ञलाई कर्मचारीहरुले कानुन विपरीतका सल्लाह दिने गरेको उहाँको भनाई छ । अख्तियारकै कारण विकास रोकियो भन्ने नमिल्ने बताउनुभयो । आयोजना बैंकभन्दा बाहिर जथाभावी रुपले बजेट खर्च गर्नु भ्रष्टचार भएको उहाँले उल्लेख गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा आयोगका हेटौंडा प्रमुख उमाकान्त आचार्य, काठमाडौंका सह न्यायधिवक्ता कृष्ण मोहन कोइरालाले कार्यालयले गरेका गतिविधि बारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा प्रदेश सरकारका सचिव, मन्त्रीहरु, सांसद्, स्थानीय निकायका जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*