जनअपेक्षा अनुरुप प्रदेश सरकारले काम गरिरहेको छः मुख्यमन्त्री जम्कट्टेल

मनिल महतो
२५ पुष २०८०, बुधबार १६:३२

२५ पुस, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जनअपेक्षा अनुरुप प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ ।
एक वर्षको अवधिमा सम्पन्न भएका कार्यहरु सार्वजनिकीकरण कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश बासीको अपेक्षालाई सरकारले केही हदसम्म पुरा गरेको दाबी गर्नुभयो । उद्योग, व्यवपार, भौतिक पूर्वाधारको क्षेत्रमा प्रदेश सरकार नयाँ नीतिका साथ अघि बढिरहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री जम्कट्टेलले तीन तहको सरकारको समन्वयबाट नै शासन प्रणाली मजबुत हुने उल्लेख गर्नुभयो । संविधानतः प्राप्त गर्नुपर्ने अधिकारहरुको लागि पहल भइरहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री जम्कट्टेलले जनताले प्रत्यक्ष रुपमा देखिने गरी विकास गर्न प्रदेश सरकार अग्रसर रहेको पनि दाबी गर्नुभयो ।


मुख्यमन्त्री जम्कट्टेलले १३ वटै जिल्लामा सेवा कार्यालयहरु स्थापना गर्नु आफ्नो एक वर्ष कार्यकालको मुख्य उपलब्धि रहेको बताउनुभयो । प्रदेश निजामती सेवा ऐन पास गरेर कर्मचारी बृत्तिविकासको समस्या आफ्नो नेतृत्वको सरकारले हल गरेको उहाँले दाबी गर्नुभयो । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा ठुलो क्रान्ति गरेको समेत उहाँले उल्लेख गर्नुभयो । मुख्यमन्त्री जम्कट्टेलले एक वर्षको अवधिमा २ सय ७२ किलोमिटर सडक कालोपत्रे भएको समेत जिकिर गर्नुभयो । समुदायमा आधारित पकेट क्षेत्रको उत्पादन नीति अन्तर्गत ८५ वटा पालिकालाई पकेट क्षेत्र घोषणा गरिएको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रदेश सरकारका सचिव, मन्त्रीहरु लगायतको उपस्थिति रहेको थियो । २०७९ पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका जम्कट्टेलले गठबन्धनमा फेरबदल भएसंगै प्रदेशसभाबाट दुई पटक विश्वासको मत समेत लिनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*