बागमतीमा राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारले मनोनयन दर्ता गराए

स्वर्णिम खबर
२३ पुष २०८०, सोमबार १७:२२

२३ पुस, हेटौँडा । राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशमा १५ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रदेशको राजधानी हेटौंडा–५ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा ६ वटा राजनैतिक दलबाट १५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । माघ ११ गते हुने निर्वाचनमा यस प्रदेशबाट चारजना राष्ट्रियसभा सदस्य छनौट हुनेछ । गठबन्धनबाट महिला तर्फ कांग्रेसका विष्णु कुमारी पुडासैनी, अन्य तर्फ कांग्रेसकै जितजंग बस्नेत, अपाङ्ता तर्फ माओवादी केन्द्रबाट श्रीकृष्ण अधिकारी र एकीकृत समाजवदीबाट दलित तर्फ घनश्याम रिजाल विश्वकर्माले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै, एमालेका तर्फबाट महिला क्लस्टरमा रोचकुमारी चौलागाई, अन्यबाट त्रिलोचन निर्मल पौडेल, अपाङ्गता÷अल्पसंख्यकबाट विवेक देवकोटा र दलितबाट ध्रुवराज विश्वकर्माले मनोनयन दर्ता गराएका हुन् ।


त्यस्तै, नेमकिपाबाट महिलातर्फ कृष्ण लक्ष्मी दुवाल, अपाङ्गतर्फ हिमालयश्वर मुल, अन्यतर्फ श्रीकृष्ण महर्जन र दलिततर्फ सङ्गीता नेपालीले मनोनयन दर्ता गरेका छन् ।
राप्रपाका तर्फबाट अन्यमा हेमजंग गुरुङ, महिलामा नानु नगरकोटी, अपाङ्गता÷अल्पसंख्यकबाट भरतमणि भट्ट र दलितमा पूर्णबहादुर बिश्वकर्माले मनोनयन दर्ता गराएकोमा दलिततर्फका उम्मेदवार पूर्णबहादुर विश्वकर्माको उमेर कम भएका कारण उम्मेदवारी रद्द भएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।


राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी बागमती प्रदेशबाट कुल ३ सय ४७ जना मतदाताले मतदान गर्ने छन् । जसमा प्रदेश सभाका ११० जना सदस्य र पालिकाका प्रमुख र उपप्रमुख गरी २ सय ३७ जना रहेका छन् । प्रदेशसभा सदस्यको मतभार ५३ र पालिका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ । जसअनुसार बागमती प्रदेशमा प्रदेशसभा सदस्यको कुल मतभार ५ हजार ८ सय ३० र पालिका प्रमुख र उपप्रमुखको कुल मतभार ४ हजार ५ सय ३ रहने छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*