खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा, मुख्यमन्त्रीले उद्घाटन गर्ने

स्वर्णिम खबर
४ पुष २०८०, बुधबार १७:१०

४ पुस, हेटौँडा । पुस ५ गतेदेखि हुने बृहत खेलकुद तथा व्यापार महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
हेटौंडा–१० स्थित टीसीएन खेल चौरमा बिहीबार देखि सुरु हुने महोत्सवको उद्घाटन मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्ने महोत्सव संयोजक तथा खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्कीले बताउनुभयो । खेलक्ुद समितिको कार्यालयबाट बाजागाजा सहित नगर परिक्रमा गर्दै उद्घाटन स्थल जाने कार्यक्रम तय भएको बुधबार पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको छ । उद्घाटन खेलका रुपमा बिहीबार पुरुष एथलेटिक्स् र महिला एथ्लेटिक्स् हुने आयोजकले जनाएको छ । पुस १७ गते सम्म चल्ने महोत्सवमा १३ वटा विधामा राष्ट्रिय, प्रदेश र जिल्लास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन हुनेछ । खेल क्षेत्रमा देखिएको आर्थिक समस्याको समाधानका उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष खड्कीले बताउनुभयो ।
महोत्सवबाट कम्तिमा २५ लाख रुपैयाँ बचत गर्ने लक्ष्य आयोजकले राखेको छ । महोत्सवमा खेलकुद प्रतियोगितासँगै लत्ताकपडा, कृषि, हस्तकला, खेलकुदका सामग्री, विभिन्न परिकारका स्टल समेत रहनेछ । मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*