प्रदेश सरकार सत्तागठबन्धको मात्रै भयोः नेता थपलिया
४ पुस, हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकार सत्तागठबन्धको मात्रै भएको टिप्पणी गरेको छ ।
बुधबार प्रदेश संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमालेका बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकार अकर्मण्य बनेको आरोप लगाउनुभयो । सरकारले बजेट जथाभावी ढंगले गठबन्धन दलका कार्यकर्तालाई बाडेको उहाँको भनाई थियो । नेता थपलियाले सरकार प्रदेशको गरिमा बढाउन भन्दा पनि स्वेच्छाचारी क्रियाकलापमा गर्न लागिपरेको जिकिर गर्नुभयो । प्रहरी प्रशासन ऐनलाई प्रदेश मातहात ल्याउन सरकार किन हिचकिचाएको भन्दै नेता थपलियाले प्रश्न समेत गर्नुभयो । उहाँले सत्ता गठबन्धन काण्डैकाण्डमा हराएको टिप्पणी समेत गर्नुभयो । सरकारकै गतिविधिको कारण संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठ्न थालेको उहाँको भनाई थियो ।
पत्रकार सम्मेलनमा नेता थपलियाले २ वटा संसदीय समितिमा आफुहरुको दाबी रहेको समेत बताउनुभयो । कुनै पनि दलको स्पष्ट बहुमत नभएकोले सांसद् संख्याको आधारमा संसदीय समिति बाँडफाँड हुनुपर्ने उहाँले बताउनुभयो । प्रमुख प्रतिपक्षी दलले लेखा समितिको नेतृत्व लिनु स्वाभाविक भएको उहाँको भनाई थियो । प्रदेशसभाबाट दुई तिहाई भन्दा बढी मतले तोकेको राजधानीलाई सार्ने अभिव्यक्ति मुख्यमन्त्री स्वयम्ले पनि दिन नमिल्ने उहाँले बताउनुभयो ।
तत्काल प्रदेशसभा बैठक बोलाई जनताका समस्याहरुलाई सम्बोधन गर्न पनि एमालेले माग गरेको छ ।