मानव सेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्छः प्रधानमन्त्री दाहाल
३० मंसिर, हेटौँडा । मकवानपुरको हेटौंडामा निर्माण भएको मानवसेवा आश्रमको केन्द्रिय कार्यालयको नवनिर्मित भवनको शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभएको छ ।
१० वर्ष भाडाको घरमा बिताएको मानवसेवा आश्रमले हाल हेटौंडाको लामसुरेघाममा आश्रमको मुख्य सेवा केन्द्रको भवन निर्माण सम्पन्न गरेको हो । भवनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले मानव सेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आश्रमले गरिरहेको कामले सरकारलाई झक्झकाएको पनि प्रधानमन्त्री दाहालको भनाई थियो । उहाँले आश्रमबाट भएका कामलाई बिस्तार गर्न सबै प्रदेशमा भवन निर्माण तथा उद्धार लगायतका कामका लागि प्रक्रिया अगाडि बढाएको बताउनुभयो । उहाँले आश्रमलाई सात वटा सवारी साधन र प्रतिव्यक्ति रु १० हजार नगद उपलब्ध गराउने जानकारी दिनुभयो । २०८२ साल सम्म सहयोगापेक्षी मानवमुक्त नेपाल बनाउने सरकारको योजनालाई आश्रमको कदमले थप मद्धत पुग्ने प्रधानमन्त्री दाहालले बताउनुभयो ।
यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले आश्रम व्यवस्थापनका लागि बजेट विनियोजन गरेको बताउनुभयो । स्रोतले भ्याएसम्म प्रदेश सरकारले सहयोग गर्ने पनि मुख्यमन्त्री जम्कट्टेलले प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकार असहाय, बेसाहारको हो भन्ने मान्यतालाई बागमती प्रदेशले आत्मसात् गरेको उहाँको भनाई थियो ।
यसैगरी प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले राज्यको सहभागितामा आश्रम मार्फत सडक मानवमुक्त प्रदेश बनाउने अभियान सुरु गरिएको बताउनुभयो । सरकारले आश्रमलाई ध्यान दिँदा वृद्धवृद्धा नागरिकको हेरचाह गर्न सहज हुने उहाँको भनाइ थियो । मन्त्री मोक्तानले आश्रममा जन्म लिएका बालबालिकाको नागरिकताको विषय जटिल बनेको बताउँदै यसको समाधानमा संघ सरकारको सहयोग आवश्यक पर्ने उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले मानवसेवा आश्रमको माध्यमले हेटौँडाबाट मानवतावादी सन्देश फैलने बताउनुभयो । सबै मिलेर सडक मानवमुक्त राज्य निर्माणमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
मानवसेवा आश्रमको सो भवन १३ करोड ८१ लाख ६६ हजार लागतमा निर्माण भएको हो । आश्रमले हालसम्म नौ हजार ७९ जनाको उद्धार गरेकामा हाल १८ जना बालक तीनजना बालिकासहित दुई सय चारजना आश्रित छन् । सडकमा रहेका मानवलाई उद्धार गरी पालनपोषण गर्ने तथा परिवारसँग पुनर्मिलन गराउने उद्देश्यले २०६९ सालमा संस्थाको स्थापना भएको हो ।