खेलकुद तथा व्यापार महोत्सवका लागि तयारी तीव्र
२७ मंसिर, हेटौँडा । मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा हुने बृहत खेलकुद तथा व्यापार महोत्सवका लागि तयारी तीव्र गतीमा भइरहेको छ ।
पुस ५ गतेदेखि १७ गतेसम्म हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा हुने महोत्सवको तयारी स्वरुप हाल मेला आयोजना हुने स्थान हेटौंडा १० टिसिएन चौर सफा गर्ने, स्टल बुकिङ लगायतका कार्य भैरहेको खेलकुद विकास समितिले जनाएको छ । खेल क्षेत्रमा देखिएको आर्थिक समस्याको समाधानका उद्देश्यले खेलकुद तथा व्यापार महोत्सवको आयोजना गर्न लागिएको महोत्सव संयोजक तथा खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्कीले बताउनुभयो । महोत्सवबाट उठेको रकमले जिल्लाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादनका मद्दत पुग्ने उहाँको विश्वास छ ।
महोत्सवमा १३ वटा विधामा राष्ट्रिय, प्रदेश र जिल्लास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन हुनेछ ।