जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको १८ औं बार्षिक साधारणसभा सम्पन्न
२३ मंसिर, हेटौँडा । जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको १८ औं बार्षिक साधारणसभा शनिबार हेटौंडामा सम्पन्न भएको छ ।
बागमती प्रदेशकी सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा संघकी अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा संघका सचिव बिरेन्द्र प्रसाद ढुंगानाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शेयरपुँजी ४ करोड ४६ लाख ५५ हजार रहेको जानकारी दिनुभयो । यस्तै संघले हालसम्म ९४ करोड ५६ लाख ९२ हजार ५ सय ४४ रुपैयाँ बचत भएको जनाएको छ । जिल्लाका १ सय ३८ वटा बचत तथा ऋण सहकारी सँस्थाहरु सदस्य रहेको सँघले अर्को बर्षसम्म २ वटा अरु बचत तथा ऋण सहकारी सँस्था थप गर्ने लक्ष्य राखेको छ । यसैगरी संघले आफ्ना सदस्यहरुलाई २२ करोड ८० लाख २६ हजार रुपैया ऋण लगानी गरेको र ७ करोड ६३ लाख ६५ हजार ४ सय १९ रुपैयाँ आम्दानी गरेको सचिव ढुंगानाले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्लामा सर्वोत्कृष्ट सहकारी सँस्था, सर्वोत्कृष्ट महिला सहकारी सँस्था, सवौत्कृष्ट महिला सहकारी अभियन्ता, सर्वोत्कृष्ट पुरुष सहकारी अभियन्ता, सर्वोत्कृष्ट पुरुष तथा महिला कर्मचारीहरु, उत्कृष्ट बचतकर्ता सहकारी लगायतका बिधाहरुमा विभिन्न सहकारी सँस्था तथा व्यक्तित्वहरुलाई पुरस्कृत गरिएको छ । कार्यक्रममा बागमती प्रदेश सहकारी बिकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटा, इन्द्रसरोबर गाँउपालिका उपाध्यक्ष उमा लामा, बागमती प्रदेशका सहकारी महाशाखाका रजिष्टार राधाकृष्ण खतिवडा, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका सल्लाहकार बद्री प्रसाद लम्साल लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।