अख्तियारको कामप्रति मुख्यमन्त्री असन्तुष्ट

मनिल महतो
२३ मंसिर २०८०, शनिबार १३:५७

२३ मंसिर, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम प्रति नै असन्तुष्टि जनाउनुभएको छ ।
भ्रष्टचारविरुद्धको अन्र्तराष्ट्रिय दिवसको अवसरमा आयोगले शनिबार हेटौंडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले उजुरीहरुको सत्यतथ्य छानबीन नै नगरी अख्तियारले निवेदन लिने गरेको बताउनुभयो । जनताले दुःख पाउँदा व्यवस्था माथि नै प्रश्न उठ्ने भएकोले अख्तियारले निष्पक्ष ढंगले उजुरीहरुको छानबीन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मुख्यमन्त्री जम्कट्टेलले अख्तियार बदला लिने हतियारको रुपमा प्रयोग हुन नदिन समेत सचेत गराउनुभयो । बजेट बनाउने र पारित गर्ने संसद्को अधिकार भएपनि अख्तियारले त्यसमा बेलाबखत अवरोध खडा गर्ने गरेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।


मुख्यमन्त्री जम्कट्टेलले राजनीतिक नेतृत्व नै निष्पक्ष नहुँदा भ्रष्टचार मौलाएको बताउनुभयो । मन्त्रीपरिषद्का निर्णयहरु, कानुन संशोधन समेत नेतृत्वको अनुकुलतामा हुने गरेको उहाँले उल्लेख गर्नुभयो । मुख्यमन्त्री जम्कट्टेलले नेपालमा भ्रष्टाचार संस्कारको रुपमा विकसित हुँदै गएको जिकिर गर्नुभयो । उहाँले कर्मचारी तन्त्रले कानुनको पालना गर्ने सवालमा दह्रो ढंगले खुट्टा टेक्न नसकेको बताउनुभयो । कर्मचारीहरुले नहुने कुरालाई हुन्छ भनेर नेतृत्वलाई दबाब दिन नमिल्ने उहाँको भनाई थियो । भ्रष्टचारलाई हेर्ने दृष्टिकोण सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुुँदा अर्को गर्न नहुनेमा मुख्यमन्त्री जम्कट्टेलको जोड थियो ।


कार्यक्रममा प्रमुख नरहरि घिमिरेले कार्यालयको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायको सभाध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ, प्रदेशका सचिव, कर्मचारी, नेपाली सेना लगायतको सहभागिता थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*