समाजवाद निर्माणको लागि शिक्षक संगठनले सरकारलाई खबरदारी गर्नुपर्छः नेता थपलिया

स्वर्णिम खबर
२२ मंसिर २०८०, शुक्रबार १८:५१

२२ मंसिर, हेटौँडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले शिक्षा क्षेत्रमा क्रान्ति गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेशको प्रथम अधिवेशनलाई हेटौंडामा सम्बोधन गर्नुहुँदै नेता थपलियाले सरकारी र नीजि विद्यालयबीच स्वच्छ प्रतिस्पर्धा हुने गरी सरकारले नीति ल्याउनुपर्ने बताउनुभयो । सरकारी विद्यालयमा लगानी गरेर नीजि विद्यालयलाई सरकारले बेवास्ता गर्न नमिल्ने नेता थपलियाले उल्लेख गर्नुभयो । देश आर्थिक रुपले संकटपूर्ण स्थितिमा रहेकोले राष्ट्र निर्माणको लागि शिक्षक, विद्यालय, वकिल सबै एकजुट हुनुपर्ने उहाँले बताउनुभयो । नेता थपलियाले राष्ट्रको समाजवाद निर्माणको लागि शिक्षक संगठनले सरकारलाई खबरदारी गर्नुपर्ने उल्लेख गर्नुभयो ।


फरक प्रसंगमा नेता थपलियाले सञ्चारमाध्यमहरु प्रति असन्तुष्टि व्यक्त गर्नुभयो । एमालेका स्वयम्सेवकहरुले भुकम्प पीडितका लागि आवास निर्माण गरेको काम सञ्चारकर्मीको प्राथमिकता नपरेको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो । आफ्नो पार्टीको मध्य पहाडी लोकमार्ग अभियानलाई ठुलो मिडिया हाउस भन्नेहरुले नै कभरेज नगरेको उहाँले आरोप लगाउनुभयो । नेता थपलियाले समाजवादी आन्दोलनलाई अगाडि बढाउने पार्टी नेकपा एमाले मात्रै भएको दाबी गर्नुभयो ।
नेता थपलियाले अहिले गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरहरुबीच वैचारिक लडाई भइरहेको बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*