चित्लाङमा व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडान सुरु
२० मंसिर, हेटौँडा । मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडान सुरु गरिएको छ ।
बाबु एडभेन्चर्स प्रा.लिले थाहा नगरपालिकाको चित्लाङमा प्याराग्लाइडिङ सेवा सुरु गरेको हो । थाहा नगरपाललिका–९ को चन्द्रगिरि डाँडाबाट उडान भरेर वडा नं. ९ कै चित्लाङमा अवतरण गर्ने व्यवस्था गरिएको छ । बाबु एडभेन्चर्सका संस्थापक सानुबाबु सुनुवारले लामो समयको अध्ययन र अनुसन्धानसँगै सरकारबाट स्वीकृति पाएपछि उपत्यका नजिकै प्याराग्लाइडिङ उडान भर्ने कार्य भइरहेको जानकारी दिनुभयो । उहाँले प्याराग्लाइडिङ उडानका क्रममा काठमाडौँ उपत्यका, हिमशृङ्खला, चित्लाङ, मार्खुलगायतका पर्यटकीय स्थलको दृश्यावलोकन गर्न सकिने बताउनुभयो ।
कम्पनीले रामेछाप, पोखरा, सुर्खेत, दाङलगायतका स्थानमा विदेशी र नेपालीलाई लक्षित गरी प्याराग्लाइडिङ सञ्चालन गर्दै आएको छ । चन्द्रगिरि डाँडाबाट उडान सुरु गरेपछि १५ देखि ३० मिनेटसम्म उडान गर्न सकिने बताउँदै उहाँले हाल ६ वटा प्याराग्लाइडिङ उडान गर्न सक्ने सामग्री रहेको बताउनुभयो । प्याराग्लाइडिङ उडान भएसँगै चित्लाङ क्षेत्रको पर्यटन विकासमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । थप सामग्रीको व्यवस्थापन गर्दा चित्लाङमा व्यावसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालन गर्दा लागत एक करोड रुपियाँ पुग्ने कम्पनीको भनाइ छ । यहाँ नेपालीले प्याराग्लाइडिङ उडान गरेबापत प्रतिव्यक्ति कम्पनीले ८ हजार रुपियाँ लिँदै आएको छ ।