संघीयता कमजोर नहुनेगरी स्थानीय तहलाई बलियो बनाउनुपर्छः मन्त्री लामा
१८ मंसिर, हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले संघीय व्यवस्था कमजोर नहुने गरी स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
सोमबार जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समिक्षा कार्यक्रमलाई बोल्दै मन्त्री लामाले तीनवटै तहले आफ्नो अधिकारको मात्रै विषय उठान गर्दा एकआपसमा अन्तद्र्वन्द्व जस्तो स्थिति पैदा भएको बताउनुभयो । तहगत सरकारबीचमा अन्तद्र्वन्द्व हुँदा संघीयता कमजोर हुनसक्ने भन्दै उहाँले सरोकार पक्ष सबै यसमा गम्भीर बन्नुपर्ने उल्लेख गर्नुभयो संघ, प्रदेश र स्थानीय तहबीच समन्वयकारी भूमिका अहिलेको प्रमुख आवश्यकता रहेको मन्त्री लामाको भनाई थियो । उहाँले तीनवटै तहका सरकारबाट बन्ने नीति, नियम, मापदण्ड गहन अध्ययन गरि निर्माण गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरले फरक फरक विधाका संस्था तथा व्यक्ति गरि १२ जनालाई सम्मान समेत गरेको थियो । सहकारी विधा अन्तर्गत श्रमिक साना किसान कृषि सहकारी संस्था लिमिटेड, मकवानपुरगढी र जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडलाई सम्मान गरिएको छ । यस्तै, गैह्र सरकारी संस्थातर्फ शान्ति फाउण्डेशन मकवानपुर र ग्रामिण जीवनस्तर सुधार मञ्च मकवानपुरलाई सम्मान गरिएको छ ।
यसैगरि, कर्मचारीतर्फ जिल्ला समन्वय समिति मकवानपुरमा खरिदार पदमा कार्यरत कर्मचारी अमृता खनाल र कैलाश गाउँपालिका अन्तर्गत कार्यरत सिनियर अनमि आशाकुमारी गुरुङ झा, बकैया गाउँपालिकाका सहायक पाँचौं तहका कर्मचारी मनिषा पराजुली सम्मानित भएकी छन् । समाजसेवातर्फ फरक सोच अभियन्ता थाहा नगरपालिकाका यादवजंग रायमाझी सम्मानित भएका छन् । यस्तै, खेलकुदतर्फ कराँतेमा, थाहा नगरपालिकाका मान सिं दोङ सम्मानित भएका छन् ।
यस्तै, सामुदायिक वनतर्फ सिमपानी देउकोट सामुदायिक वन उपभोक्ता समूह मनहरि सम्मानि भएका छन् भने शिक्षातर्फ इन्द्रसरोवर गाउँपालिकाका चन्द्र आधारभूत विद्यालय सम्मानित भएका छन् । यसैगरि साना महिला उद्यमीतर्फ गीता मैनाली सम्मानित भएकी छन् ।