बागमती प्रदेशः सर्वदलीय बैठक निष्कर्षविहिन, सहमतिको प्रयास जारी राख्ने सत्तापक्षको भनाई
१७ मंसिर, हेटौँडा । बागमती प्रदेशको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ ।
सत्तापक्ष र प्रतिपक्षले आफ्नो अडान नछाड्दा आइतबार प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठक निष्कर्षविहिन भएको हो । बैठकमा बजेट कार्यान्वयन, समितिका सभापतिको चयन र पूर्वाधार विकास कोषको रकम सम्बन्धमा छलफल भएको नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले जानकारी दिनुभयो । सत्तापक्ष र प्रतिपक्षीबीच सहमति नजुटेकाले पुनः अर्को बैठक बस्ने गरी आइतबारको बैठक स्थगित भएको नेता खनालले बताउनुभयो । यद्यपी सहमतिको प्रयासलाई भने सत्तापक्षले जारी राख्ने उहाँले स्पष्ट पार्नुभयो ।
यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सरकार प्रदेशको विकास र गणतन्त्र प्रति गम्भीर नबनेको आरोप लगाएको छ । एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकारलाई सही बाटोमा हिड्न र मनोमानी ढंगले अगाडि नबढ्न सचेत गराएको बताउनुभयो । एमालेले सत्तापक्षसंग संसदीय समितिको नेतृत्वको सवालमा बार्गेनिङ नगरेको पनि नेता थपलियाले स्पष्ट पार्नुभयो । बजेट पास गर्ने बेला गरेको सम्झौतालाई कार्यान्वयन गर्न सरकारले आनाकानी गरेको नेता थपलियाको भनाई छ ।
नेता थपलियाले प्रदेशको विकास र समृद्धिको लागि एमालेले भने सरकारसंग संवाद गरिरहने पनि स्पष्ट पार्नुभयो ।