भाडाको घरमा सञ्चालन हुँदै आएको उद्योग मन्त्रालय अब सरकारी भवनमा
१३ मंसिर, हेटौँडा । बागमती प्रदेशको उद्योग, वाणिज्य, भुमि तथा प्रशासन मन्त्रालय सरकारी भवनमा सरेको छ ।
भाडाको घरबाट सञ्चालन हुँदै आएको मन्त्रालय अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्राङगणमा रहेको भवनबाट सञ्चालन हुनेछ । पुरानो भवनलाई मर्मत सम्भार गरी मन्त्रालय सञ्चालनमा ल्याइएको हो । बुधबार एक औपचारिक कार्यक्रमको बीच मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भवनको समद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्नुहँदै मुख्यमन्त्री जम्कट्टेलले प्रदेशका संरचनाहरु निर्माण गर्न लागि जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो । भाडाका घरमा रहेका प्रदेशका अन्य संरचनाहरुलाई पनि सरकारी भवनमै सार्ने तयारी भइरहेको मुख्यमन्त्री जम्कट्टेलले उल्लेख गर्नुभयो । उहाँले विगतको भन्दा बागमती प्रदेश सरकार भिन्न किसिमले अगाडि बढेको दाबी गर्नुभयो । कृषि क्षेत्र समृद्ध प्रदेशको आधार भएको उल्लेख गर्दै मुख्यमन्त्री जम्कट्टेलले समुदायमा आधारित उत्पादनको मोडेलमा जानुपर्ने बताउनुभयो । उहाँले ८० देखि ८५ वटा पालिकालाई कृषि पकेट क्षेत्र घोषणा गर्ने पनि उल्लेख गर्नुभयो ।
यसैगरी आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले अन्य प्रदेशको तुलनामा बागमती प्रदेश कुल गार्हस्थ उत्पादनमा न्युन रहेको बताउनुभयो । उहाँले बजेटलाई उत्पादनमुलक क्षेत्रमा लगानी गरी रोजगार सिर्जना गर्नुपर्ने जिकिर गर्नुभयो । ऐन संशाधोन गरेर भएपनि प्रदेशभित्र लगानी गर्नको निम्ति लगानीकर्ताहरुलाई प्रोत्साहित गर्नुपर्नेमा मन्त्री लामाले जोड दिनुभयो ।
यसैगरी उद्योग मन्त्री रामकृष्ण चित्रकारले उद्योग र व्यवसायलाई प्राथमिकतामा राखेर मन्त्रालय अघि बढ्ने बताउनुभयो । जनतालाई जुन किसिमले प्रदेश सरकारले डेलिभरी दिनुपर्ने हो त्यो हुन नसकेको मन्त्री चित्रकारले स्वीकार गर्नुभयो ।
कार्यक्रममा उर्जा तथा खानेपानी मन्त्री तीर्थ लामा, वन तथा वातावरण मन्त्री मसिना खड्का, संस्कृति तथा पर्यटन मन्त्री पुकार महर्जन लगायत मन्त्रालयका सचिवहरुको आतिथ्यता रहेको थियो ।