धुलो दूध तथा बटर उद्योगको मन्त्री श्रेष्ठद्वारा निरिक्षण

स्वर्णिम खबर
६ मंसिर २०८०, बुधबार १९:१०

६ मंसिर, हेटौँडा । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री राजेन्द्रमान श्रेष्ठले हेटौँडा उपमहानगरपालिका– १०, सिसौघारीमा निर्माण गरिएको धुलो दूध तथा बटर उद्योगको निरिक्षण गर्नुभएको छ ।
निर्माण सम्पन्न भएर परिक्षण चरणमा रहेको उद्योगको मन्त्री श्रेष्ठले निरिक्षण गर्नुभएको हो । प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत प्रदेश दुग्ध विकास बोर्डको लगानीमा निर्मित उद्योगको मेसिन जडान कार्य सकेर परिक्षण भैरहेको निर्माण कम्पनी इजी इन्फ्रा प्रा.लिका म्यानेजर उत्तम पौडेलले जानकारी गराउनुभयो । हाल पानी र बाफबाट उपकरण परीक्षण भैरहेको पौडेलले बताउनुभयो । निरिक्षणपछि मन्त्री श्रेष्ठले निर्माण कम्पनीलाई सबै प्रक्रिया छिटो सक्न निर्देशन दिनुभयो । छिट्टै कारखाना सञ्चालनमा आउने प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टीकावल्लभ सापकोटाले बताउनुभयो ।


उच्च स्तरीय प्रविधिको प्रयोग गरी प्लान्ट स्थापना गरिएको प्राविधिक दिपक पौडेलले दाबी गर्नुभयो । प्लान्ट सञ्चालनमा आएपछि वाग्मती प्रदेशसहित मधेश प्रदेश र लुम्बिनी प्रदेशका कृषक समेत लाभान्वित हुने बोर्डको अनुमान छ । दैनिक ६० हजार लिटर दूध खरीद गरि दैनिक पाँच मेट्रिकटन धुलो दूध र बटर उत्पादन लक्ष्य रहेको छ। ४१ करोड २२ लाख ७१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको उद्योगको लागत बढेर झन्डै ४७ करोड पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*