एन्फाका अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत
२३ कार्तिक, हेटौँडा । अखिल नेपाल फुटबल संघ(एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।
हेटौंडामा बिहिबार भएको विशेष साधारणसभाले नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो । प्रस्तावको विपक्षमा ५३ मत परेको थियो भने पक्षमा एक मत पनि परेन । एक मत भने बदर भएको थियो । विशेष साधारणसभामा नेम्वाङलाई बर्खास्त गर्नुपर्छ भन्ने प्रस्ताव राख्ने असन्तुष्ट पक्षले मतदान गरेनन् । एन्फाको १ सय ७ सदस्यमध्ये ८७ जनासँग मताधिकार भए पनि ५३ जनाले मात्र मतदान गरेका थिए ।
एन्फामा अध्यक्षको बर्खास्तीको प्रस्ताव पारित हुन दुईतिहाइ मत आवश्यक पर्ने विधानको व्यवस्था छ । गत भदौमा असन्तुष्ट पक्षले एन्फा नेतृत्वले काम गर्न नसकेको भन्दै अध्यक्ष र महासचिवको बर्खास्तीको प्रस्ताव सहित एन्फामा पेश गरेका थिए । नेम्वाङ गएको वर्षको असारमा एन्फाको अध्यक्ष बन्नुभएको थियो ।