एन्फाको विशेष साधारणसभा हेटौंडामा सुरु, अध्यक्षको बर्खास्तीको विषयमा निर्णय हुने

स्वर्णिम खबर
२३ कार्तिक २०८०, बिहीबार १२:३२

२३ कार्तिक, हेटौँडा । कडा सुरक्षाका बीच हेटौंडामा अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा सुरु भएको छ ।
साधारणसभा स्थलमा ५० भन्दा बढी प्रहरी समेत परिचालन गरिएको छ । यो साधारण सभाले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको बर्खास्तीमा परेको उजुरीको विषयमा निर्णय गर्नेछ । गएको भदौ अन्तिम साता एन्फाका ४९ सदस्यहरुले हस्ताक्षरसहित अध्यक्ष नेम्वाङ र महासचिवको बर्खास्तीको माग गरेका थिए। तर एन्फाको कार्यसमिति बैठकले अध्यक्षको मात्र बर्खास्तीको प्रस्ताव साधारण सभामा पेस गर्ने निर्णय गरेको थियो। त्यसपछि एन्फाले बोलाएको विशेष साधारण सभामा आज मतदानको कार्यक्रम रहेको छ । एन्फामा जिल्ला, क्लब, प्रदेश र संघ गरी एक सय पाँच सदस्य रहेका छन्। त्यसमध्ये ८७ सदस्यलाई मात्र मतदानको हक हुनेछ । एन्फाको विधान अनुसार अध्यक्ष वा कुनै पदाधिकारी बर्खास्तीका लागि दुई तिहाई मत आवश्यकता पर्छ। त्यसैले आज ५८ जनाले नेम्वाङको विरुद्धमा मतदान गरे पनि उनको बर्खास्तीको माग सदर हुनेछ । एन्फा सदस्यहरुले फुटबल चलाउन नसकेको विभिन्न १९ अभियोग लगाउँदै उनीमाथि अविश्वास र बर्खास्तीको माग गरेका थिए । फुटबल संघको इतिहासमा नेम्वाङले पहिलो पटक अविश्वासको प्रस्ताव फेस गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*