बागमती सरकार र भरतपुर महानगरले मिलेर गौतमबुद्ध रंगशालाको काम तत्काल सुरु गर्ने
२१ कार्तिक, हेटौँडा । बागमती प्रदेश सरकारले चितवनको भरतपुर महानगरपालिकासँग मिलेर लामो समय देखि अलपत्र रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तत्काल सुरु गर्ने भएको छ ।
मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको बैठकमा महानगरपालिका र प्रदेश सरकारबीच रंगशाला निर्माणमा लगानी गर्ने सहमति भएको हो । प्रदेश सरकारले पहिलो चरणमा ७५ करोड रुपैयाँको काम गर्ने गरी सहमति भएको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो । लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले र ३० प्रतिशत रकम महानगरपालिकाले व्यहोर्नेे छ । तिहार लगत्तै ठेक्का आह्वान हुने र ठेक्का पश्चात फिल्डको काम हुने गरी तयारी भएको मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो ।
यसैगरी बैठकले यसअघि भएका आर्थिक क्रियाकलाप र ऋणसम्बन्धी सम्पूर्ण जिम्मेवारी महानगरपालिका र संघीय सरकारले व्यवस्थापन गर्ने निर्णय गरेको छ । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन रंगशालाको आर्थिक अभावको कारण देखाउँदै धुर्मुस सुन्तली फाउण्डेसनले ३५ प्रतिशत काम सकिएपछि निर्माणको काम रोकेको थियो ।